मुगु । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र नयाँ कार्यालय स्थापना गरेको छ । सोमबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कोषको रारास्थित कार्यालयको उद्घाटन गरेका हुन् ।
निकुञ्जको केन्द्रीय कार्यालय रहेको हुटुमा कोषको रारा संरक्षण कार्यक्रम कार्यालयको उद्घाटन गरिएको कोषका सदस्य सचिव डा.नरेश सुवेदीले जानकारी दिए ।
उक्त कार्यालयले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, हिमाली पर्यापर्यटन तथा रारा क्षेत्रको जैविक विविधता सम्बन्धी संरक्षण तथा अध्ययन अनुसन्धानका कार्यहरू गर्ने सदस्य सचिव सुवेदीले बताए ।
कोषका अध्यक्ष समेत रहेका वन मन्त्री शाहीले रारामा स्थापना गरिएको कार्यालयबाट मुगुवासीले जैविक विविधता तथा जलवायु परिवर्तनलगायतका क्षेत्रमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरे ।
कोषको यो कर्णाली प्रदेशमा पहिलो कार्यालय हो । नयाँ कार्यालयले कर्णाली प्रदेशमा जैविक विविधता संरक्षण, सामुदायिक सहकार्य, र पर्या पर्यटन प्रवद्र्धनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
एनटिएनसी अन्तर्गतको बर्दिया संरक्षण कार्यक्रमले हाल उक्त फिल्ड अफिसको प्रारम्भिक गतिविधिहरूको संयोजन गरिरहेको छ । एनटिएनसीका अनुसार यो पहल नेपालको एक दुर्गम तर जैविक दृष्टिले समृद्ध भूभागमा संरक्षण तथा दिगो विकासलाई नयाँ उचाइमा लैजाने रणनीतिक कदम रहेको जनाएको छ ।
यो सँगै कोषको मधेश प्रदेश बाहेक नेपालका सबै प्रदेशहरूमा कार्यालय विस्तार गरेको छ । कोषले तराई क्षेत्रलाई लक्षित गरेर कोसी, चितवन, बर्दिया र शुक्लाफाँटामा कार्यालय सञ्चालन गरेको कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए ।
हाल कोषले गौरीशंकर संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्दै आएको अधिकृत पोखरेलले बताए । यस्तै, कोषले जावलाखेलमा रहेको सदर चिडियाखानाको पनि व्यवस्थापन गर्दै आएको छ ।