जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिका–५ च्याममा रहेको नेपाल टेलिकमको फ्रोजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीयवासी सञ्चार सेवाबाट बन्चित भएका छन् ।
टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताउनु भयो । उहाँका अनुसार टावर एक सातादेखि बिग्रिएर सेवा अवरुद्ध भएको छ,बिरामी तथा आपत्कालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न तथा दैनिक सञ्चारमा समेत समस्या भइरहेको बताउनु भयो ।
स्थानीयले लामो समयसम्म टावर नचल्नुको कारण तत्काल खोजी गरी सेवा सुचारु गर्न माग गरेका छन् उनीहरूले टावरमा प्राविधिक समस्या आएको हो वा विद्युत् तथा सोलार प्रणालीमा समस्या भएको हो भन्ने विषयमा सम्बन्धित निकायले यथार्थ जानकारी दिनुपर्ने बताएका छन् ।
यस विषयमा नेपाल टेलिकम हुम्लाका प्रमुख रिङ्ज्याङ्मु लामासँग फोनमार्फत सम्पर्क गर्ने प्रयास गरिए पनि फोन उठेन । तर, नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराले भने च्यामको फ्रोजी टावरमा राखिएको सोलारमा पर्याप्त पावरले सिस्टमलाई नउठाएका कारण सञ्चालनमा नआएको बताउनुभयो ।
बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलारमा पर्याप्त चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको हो । उहाँले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाइएको र सोलारमा भएको पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताउनुभयो ।
“एक–दुई दिन राम्रोसँग घाम लाग्यो भने टावर चल्ने अवस्था हुन्छ,” सूचना अधिकारी बोहोराले भन्नुभयो । उहाँका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म राम्रोसँग चार्ज भए टावर आफैँ सञ्चालनमा आउने बताउनु भयो ।
नेपाल टेलिकमका सूचना अधिकारी बोहोराले हुम्लाको सदरमुकाम सिमकोटमा समेत सोलारमा पर्याप्त पावर नहुँदा दैनिक ६ देखि ८ घण्टासम्म सेवा बन्द हुने गरेको बताउनुभयो । सिमकोटमा भने जेनेरेटर सञ्चालन गरेर सेवा नियमित राख्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।
च्याममा पनि सोलारमा पर्याप्त चार्ज हुन नसक्नु नै टावर सञ्चालनमा नआउनुको कारण भएको टेलिकमको भनाइ रहे पनि स्थानीयले भने एक सातासम्म सेवा अवरुद्ध हुनुको अवस्थालाई गम्भीर रूपमा लिएर प्राविधिक टोलीमार्फत स्थलगत निरीक्षण तथा आवश्यक मर्मत गर्नुपर्ने स्थानीय युवा मल्लको भनाइ छ ।
सञ्चार सेवा दैनिक जीवनसँगै आपत्कालीन अवस्थामा समेत अत्यावश्यक हुने भएकाले टावरमा देखिएको समस्या छिटो समाधान गरी सेवा नियमित गर्नुपर्ने बताउनु भयो । यस टावरले अदानचुली गाउँपालिका, मुगुको सोरु गाउँपालिका लगायत आसपासको क्षेत्रम काम गर्ने गर्दछ ।–––कालीबहादुर थापा