नेपाली कांग्रेस हुम्लाको जिल्ला सभापतिमा सूर्यबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । सर्केगाडमा आज सम्पन्न जिल्ला अधिवेशनले शाहीलाई सभापतिमा चयन गरेको हो । यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहनुभएका शाहीलाई अधिवेशनबाट पुनः जिल्ला सभापतिको जिम्मेवारी दिइएको हो ।
जिल्ला कार्यसमितिको उपसभापतिमा सर्केगाड गाउँपालिका–१ जैरका बुद्धि बम र सचिवमा सिमकोट गाउँपालिका–२ ठेहेका जीवन बोहोरा चयन हुनुभएको जिल्ला सभापति सुर्यबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार ४३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको र अन्य पदाधिकारी चयनका लागि भने छलफल भइरहेको बताउनु भयो ।
नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै हुम्लामा पार्टीका दुई पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाएका हुँन् । वर्तमान सभापति गगन थापा नेतृत्वको पक्षले जिल्लाका सातवटै गाउँपालिका र ४२ वडाको अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशनमा जुटीरहेको बेला देउवा पक्षको काँग्रेशले भने यतिबेला जिल्ला वडा देखी जिल्ला अधिवेशन गर्नै सकस देखीएको छ ।
यता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो । गगन पक्षले गाउँपालिका देखी क्षेत्रीय अधिवेशन तथा केन्द्रीय अधिवेशन समेत सम्पन्न गरिसक्दा देउवा पक्षले भने वडा अधिवेशनलाई निरन्तरता दिइरहेको छ ।
देउवा पक्षका जिल्ला संयोजक सूर्यबहादुर शाहीका अनुसार सर्केगाड गाउँपालिका–५ गोठीबाट वडा अधिवेशन सुरु गरिएको थियो । देउवा पक्षअन्तर्गत ताँजाकोट गाउँ कार्यसमितिको सभापतिमा चक्रबहादुर शाही र सर्केगाड गाउँ कार्यसमितिको सभापतिमा जीवन फडेरा सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा धनजीत भण्डारी र प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा याङ्जोर कार्की निर्विरोध चयन हुनुभएको छ । अन्य गाउँ कार्यसमितिको भने अहिले सम्म अधिवेशन गर्न सकेको छैन ।
हुम्ला कांग्रेसको आन्तरिक राजनीतिमा पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता जीवनबहादुर शाहीको पक्षधरतालाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ । शाही गगन थापा पक्षमा खुलेपछि जिल्लामा उक्त पक्षका गतिविधि र अधिवेशन प्रक्रिया अघि बढेका छन् । देउवा पक्षमा केन्द्रीय सदस्य समेत रहेकी पुर्व सांसद महिला नेतृ रंगमती शाही र शेखर पक्षकी संविधान सभा सदस्य रिता शाही यतिबेला गाउँमा अधिवेशन गरीरहेकी छन् ।
जिल्ला सभापति सूर्यबहादुर शाही चयन भएसँगै देउवा पक्षले जिल्ला कार्यसमिति गठनको प्रक्रिया अघि बढाएको छ । अन्य पदाधिकारी चयन तथा बाँकी अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।–––कालीबहादुर थापा