हुम्लाका देवदेवतासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार मानसरोवरको जल ल्याउने र कैलाश दर्शन गर्ने उद्देश्यले धामीझाँक्री करिब तेह्र वर्षपछि पुनः मानसरोवर–कैलाश पुगेका छन् ।
हुम्लामा मानिने देवतामध्ये बाँडपाल देवताका धामीझाँक्रीलाई यसपटक चीनको भिसा लिएर मानसरोवर–कैलाश दर्शन तथा पूजाआजाका लागि लगिएको हो । सिमकोट गाउँपालिका–५ का टेकबहादुर रावतका अनुसार देवता मान्ने दुई घरधुरीको व्यवस्थापनमा धामीझाँक्रीलाई धार्मिक यात्रामा लगिएको बताउनु भयो ।
धार्मिक मान्यताअनुसार नयाँ धामी बनेपछि एकपटक मानसरोवर पुगेर स्नान गर्ने, कैलाशको दर्शन तथा परिक्रमा गर्ने परम्परा रहेको छ । मानसरोवरमा स्नान गरेपछि धामी शुद्ध हुने र देवताको धार्मिक कर्मका लागि योग्य हुने विश्वास रहँदै आएको रावतले बताउनुभयो ।
सीमा–पासबाट हुने यात्रा रोकिएपछि १३ वर्षको अन्तराल
हुम्लावासीले विगतमा हिल्सा नाकाबाट चीन प्रवेशका लागि प्राप्त गर्ने सीमा–पासकै आधारमा ताक्लाकोट हुँदै मानसरोवर–कैलाशसम्म पुग्ने गरेका थिए । तर २०७० सालपछि सीमा–पासका आधारमा मानसरोवर–कैलाशसम्म जाने व्यवस्था बन्द भयो ।
हिल्सा नाकाबाट स्थानीयका लागि जारी हुने सीमा–पासले सीमावर्ती चिनियाँ क्षेत्रमा आवतजावतको सुविधा दिए पनि मानसरोवरसम्म पुग्न थप अनुमति आवश्यक पर्ने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो, उहाँका अनुसार हिल्साबाट ताक्लाकोट करिब ३० किलोमिटर दूरीमा पर्छ भने ताक्लाकोटबाट मानसरोवर पुग्न थप करिब ८० किलोमिटर यात्रा गर्नुपर्ने भएकाले पनि जिल्ला प्रशासन कार्यालयले दिएको सिमापास काम नलाग्ने बताउनु भयो । तर यता लिमि लाप्चालाई आधिकारीक नाकाको रुपमा मान्यता दिने हो भने लाप्चाबाट मानसरवर पुग्न ३० किलोमिटर मात्र छ तर त्यसलाई मान्यता नदिदा लाप्चाबाटै दर्शन गरी फर्कनेहरु धेरै भएपनि त्यसको तथ्यांक जिल्ला प्रशासन कार्यालयमा नहुँने बताउनु भयो ।
हुम्लाले दिने सिमा पासले कैलाश–मानसरोवर दर्शन गर्न नपाउने भएकै कारण हुम्लाका स्थानीयको परम्परागत धार्मिक यात्रा प्रभावित हुँदै आएको थियो । कोरोना महामारीका कारण हिल्सा नाकाबाट कैलाश–मानसरोवर यात्रा लामो समय प्रभावित बनेको भए पनि पछिल्ला वर्षमा हिल्सा नाका हुँदै तीर्थयात्रा पुनः सञ्चालनमा आएको छ । २०८३ सालमा हिल्सा हुँदै कैलाश–मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढेको छ । तर पर्यटक तथा संगठित तीर्थयात्रीका लागि यात्रा खुल्नु र हुम्लाका स्थानीयले परम्परागत सीमा–पासकै आधारमा मानसरोवरसम्म जान पाउनु भने फरक विषय बनेको छ ।
भिसा लिएर धार्मिक यात्रा
यसपटक बाँडपाल देवताका धामीझाँक्रीलाई भने विशेष प्रक्रियाबाट भिसा लगाएर मानसरोवर–कैलाश र्पुयाइएको हो । यससँगै तेह्र वर्षपछि हुम्लाका धामीझाँक्रीले पुनः मानसरोवरको जल तथा कैलाश दर्शन गर्ने अवसर पाएका छन् । भने यता डाँडाफयाबाट पनि एक समुह प्रबेश गरेको छ । उनिहरुसँग फोन सम्पर्क भएको छैन । सोही गाउँका सिमकोट गाउँपालिका वडा नम्बर ७ का मन्दिर सिंहका अनुसार डाँडाफयाबाट सर्कि, सुकिलोहंस र मष्टोका धामी र पुजारी सहित १० जनाको टोली गएको बताउनु भयो छ ।
स्थानीयका अनुसार विगतमा सीमा–पासकै आधारमा तुलनात्मक रूपमा सहज र कम खर्चमा धार्मिक यात्रा गर्न सकिने भए पनि अहिले भिसा र अन्य प्रक्रियाबाट जानुपर्ने भएपछि धामीझाँक्रीको धार्मिक यात्रा थप खर्चिलो बनेको छ । धामीझाँक्रीलाई मानसरोवरसम्म पुर्याउन यातायात, अनुमति, बसोबास तथा अन्य व्यवस्थापनमा खर्च बढेको स्थानीय सिंहको भनाई छ । उहाँका अनुसार साबिकको ३ नम्बर ग्वालेखोरका सुकिलोहंसका पुजारी लोगजन शाही र धामी कल बहादुर शाही सहित ८ जना र साविकको ५ बाट सर्कीका धामी ध्वजबहादुर शाही सहित २ जना गएका छन् । उनिहरुलाई पासर्पोट देखी आउने र जान खर्च प्रतिव्यक्ति करिब १।१ लाख रुपैया लागेको र उक्त खर्च ति देबता मान्ने घरधुरीहरुले उठाएर व्यवस्थापन गरीएको बताउनु भयो ।
यता अध्यागमन कार्यालय हिल्सकाबाट धार्मीक पर्यटकका रुपमा कैलाश–मानसरोवर गएका जम्मा १ सय १४ जना गएको कार्यालयमा कार्यरत पेमा लामाले बाउनु भयो । उहाँका अनुसार अन्य नागरिकहरु कोही बिदेशी नागरीकहरुको गाइडका रुपमा गएपनि हुम्ला मुगु र सुर्खेत लगायतका जिल्लाबाट धार्मिक पर्यटकका रुपमा गएका नेपाल्किाहरु ५९ पुरुष र ५५ महिला गरी १ सय १४ जना मात्र गएको बताउनु भयो । उनले भने “ हुम्लाका मात्रै ५ वटा समुह गएका छन् । कहाँका को र के का धामीझाक्री हुँन् भन्ने आफुलाई थाहा नभएको तर २ समुह क्षेत्री जातीका र ३ समुह लामा जातीका गरी ५ समुह मानसरवर कैलाशको दर्शन गर्न गएका छन् ” । भिसामा नाम र पासर्पोट नम्बर मात्र हुँने भएकाले आफुलाई सबै कुरा थाहा नभएको बताउनु भयो ।
जनैपूर्णिमाको पूजासँग जोडिएको धार्मिक परम्परा
सिमकोट गाउँपालिकामा जनैपूर्णिमा विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा छ । यही धार्मिक परम्परासँग जोडिएका धामीझाँक्रीमध्ये मष्टो, बाँडपाल, सर्कि र सुकिलोहंस देवताका धामीझाँक्रीहरु यसपटक मानसरोवर–कैलाश पुगेका हुन् ।
धामीझाँक्री भदौ १० गते सिमकोट फर्किने तयारी रहेको स्थानीय टेकबहादुर रावतले बताउनु भयो । भदौ ११ गते चतुर्दशी र भदौ १२ गते जनैपूर्णिमा पर्ने भएकाले त्यसअघि धामीझाँक्री फर्किएर सम्बन्धित धार्मिक तथा पूजाआजा कार्यक्रममा सहभागी हुने बताउनु भयो ।
जिल्लाको तल्लो क्षेत्रबाट शुन्य
भौगोलक हिबले निकैनै ठुलो जिल्ला हुम्लाको तल्लो क्षेत्रका धामीझाक्रीहरु मानसरवर जान पाएका छैनन् । पहिले करिब १५ दिनको समय लिएर हिडेरै जाने र आउने गरेको भएपनि पछिल्लो समय सिमापास आवश्यक पर्ने भएपछि जान नपाएको अदानचुली गाउँपालिका वडा नम्बर १ मा मान्ने काले देबताका धामी रुपचन्द्र थापाको भनाई छ । उनका अनुसार पहिले आफु त्यहाँ जाँदा सजिलै थियो तर अहिले त्यत्रो खर्च गरेर पासर्पोट बनाउन, माथि गएर आउन खर्चनै जुटाउन नसकिने भएपनि कोही कसैले पनि जने प्रयास नगरेको बताउनु भयो ।
पछिल्लो समय नजिकका तिर्थहरुमा गएर आउने गरी रहेका यहाँका धामीझाक्रीहरु ठाकुर ज्यु को र्दन गर्न, मानसरवरको जल ल्याउन तथा स्नान गर्न पाएका छैनन् ।
धार्मिक परम्परा कि विशेष अनुमति ?
हुम्लाका लागि मानसरोवर–कैलाश केवल पर्यटकीय गन्तव्य मात्र नभई स्थानीय देवता, धामीझाँक्री र धार्मिक संस्कारसँग जोडिएको आस्थाको केन्द्रसमेत हो । त्यसैले स्थानीयको माग सामान्य पर्यटकसरह मानसरोवर भ्रमण गर्न पाउने मात्र नभई पुर्खौँ देखि चलिआएको धार्मिक परम्परा कायम राख्न धामीझाँक्रीलाई सहज र व्यवस्थित रूपमा मानसरोवरसम्म पुग्ने विशेष व्यवस्था हुनुपर्ने रहेको छ । यसपटक भिसामार्फत बाँडपाल देवताका धामीझाँक्रीलाई मानसरोवर–कैलाश पुर्याइए पनि आगामी दिनमा हुम्लाका अन्य देवताका धामीझाँक्री तथा धार्मिक समुदायका लागि कस्तो व्यवस्था हुन्छ भन्ने प्रश्न भने कायमै छ ।
हिल्सा नाका अहिले कैलाश–मानसरोवर यात्राको महत्वपूर्ण प्रवेशमार्गका रूपमा पुनः सक्रिय भएको छ । २०८३ को यात्रायाममा भारतीय तीर्थयात्रीको आवागमन समेत बढेको तथ्यले नाका धार्मिक पर्यटनका लागि खुला रहेको देखाउँछ । तर हुम्लाका स्थानीयको परम्परागत धार्मिक यात्राका लागि सीमा–पासबाट मानसरोवरसम्म पुग्ने पुरानो व्यवस्था पुनः सहज बनाउने कि विशेष धार्मिक अनुमति र भिसाको छुट्टै व्यवस्था गर्ने ? भन्ने विषय अब स्थानीय तहदेखि जिल्ला प्रशासन, परराष्ट्र मन्त्रालय र चीनसँगको द्विपक्षीय समन्वयसम्म पुग्नुपर्ने देखिन्छ ।
तेह्र वर्षपछि बाँडपाल देवताका धामीझाँक्रीको मानसरोवर–कैलाश यात्रा पुनः सुरु हुनु हुम्लाको धार्मिक तथा सांस्कृतिक परम्पराका लागि महत्वपूर्ण घटना भए पनि यसले स्थानीयको धार्मिक अधिकार, सीमा व्यवस्थापन र सांस्कृतिक परम्पराको संरक्षणबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहसलाई समेत पुनः सतहमा ल्याएको छ ।–––कालीबहादुर थापा