हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा हिमताल फुटेर आएको बाढी पहिरोबाट पीडितलाई आज पहिलो चरणको राहत पुगेको छ ।
पहिरोले जोखिममा रहेका १९ घरधुरीलाई नाम्खा गाउँपालिका, उद्योग वाणिज्य संघ, आधार नेपाल नामक संस्था लगायतले सहयोग गरेको राहत वितरणका लागि आज तिल गाउँमा पुगेको हो ।
सदरमुकाम सिमकोट, याल्वाङ लगायतबाट राहत लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा स्वयम आफैँ पुग्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बाढी पहिरो पीडितका लागि प्रमुख समस्या गाँस कपास र बासको समस्या भएको भन्नुहुँदै पीडित परिवारलाई अत्यावश्यक सामान पठाइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले १९ वटा प्रभावितहरूलाई १० क्विन्टल चामल, एक सय लिटर तेल, नुन दुई क्विन्टल, चिनी दुई क्विन्टल, मैदा ३० क्विन्टल, चिउरा एक क्विन्टल, भुजा एक क्विन्टल, चिया दश प्याकेट, आलुको बिउ, सागसब्जीको बिउ, साबुन १० प्याकेट (लुगा धुने, मुख धुने), औषधि, सिमेन्ट १३ बोरा र खानेपानीको लागि पाइप आज पुगेको बताउनुभयो । प्रभावितहरूका लागि तत्काल आवश्यक पर्ने सबै सामग्रीहरु पठाइएको उहाँले बताउनुभयो ।
यस्तै, उद्योग वाणिज्य संघ हुम्लाको समेत राहत सहयोग रहेको वाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारीले बताउनुभयो । विपत्तिमा परिरहेका तिलवासीलाई उद्योग वाणिज्य सङ्घले पनि त्यसमा सहयोग गरेको हो ।

त्यसैगरी, खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालय हुम्लाले एक हजार आठ सय मिटर खानेपानीको पाइप सहयोग गरेको छ । पीडितहरूका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग माग गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।
तिल गाउँका नागरिक बाढी पहिरो पछि खोलाको दूषित पानी खान थालेपछि पाइपको सहयोग उक्त कार्यालयले गरेको छ भने पाइप पनि आजै पुगिसकेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । बाढी पहिरो गएको हप्ता दिनपछि पहिलो सहयोग तिल गाउँमा पुगेको वडाध्यक्ष तामाङले बताउनु भयो ।
अहिले तिल गाउँका १९ घरधुरीका ३३ जना त्रिपाल मुनि बस्दै आएका छन् । राहत हल्जी गाउँमा पुगेर गाउँपालिका कर्मचारी, हल्जी गाउँका गरी २५ जनालाई उक्त राहत पिठ्युँमा बोकाएर पठाइरहेको वडाध्यक्ष तामाङले बताउनुभयो । राहत सामग्री हल्जी गाउँदेखि गाडी पुग्ने सम्म र त्यसपछि भरिया, घोडा खच्चडबाट तिल गाउँमा पुर्याइएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले आज आफ्नो सहयोग लिएर त्यसतर्फ प्रस्थान गरेको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले कम्बल १८ थान, त्रिपाल १८ थान, म्याटेस्, १८ थान सहयोग लिएर हुम्ला शाखाका अध्यक्ष गणेश महत स्वयम आफै त्यस तर्फ जानु भएको हो ।