हुम्ला जेठ ९ । हुम्ला साक्षर जिल्लाका रुपमा घोषणा भएको छ । संविधान सभा सदस्य एवं नेकपा माओबादी केन्द्र हुम्ला जिल्ला इन्चार्ज छिमि दोर्जे लामा ( आसाकर)को प्रमुख आतिथ्यमा तथा जिल्ला समन्यवय समितिका प्रमुश शिबराज शर्माको अध्यक्षता आज विविध साँकृतिक कार्यक्रम सहित घोषणा गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्क बस्नेतले बताउनु भयो । सामाजीक विकास कार्यालय हुम्लाको आयोजनामा शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम गरेर हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश आले मगरका अनुसार हुम्लामा ९६.४ प्रतिशत नागरिक साक्षर छन् । राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या मध्ये ९५ प्रतिशतभन्दा माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ । सोही अनुसार हुम्लामा १५ देखि ६० उमेर समूहको ३५ हजार ३ सय ५४ जनसंख्यामध्ये ३३ हजार ९ सय ५४ जनाभन्दा धेरै नागरिक साक्षर रहेको तथ्यांकमा उल्लेख छ ।
जिल्लाका ७ वटै पालिका साक्षर घोषणा भएपछि यही बैशाख ११ गतेका जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा सहित सरोकारवला निकायहरुको उपश्थिीतमा बसेको बैठकले हुम्लालाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय सामुहिक रुपमा हस्ताक्षर गरेका थिए । साक्षरता हाम्रो गौरब, साक्षर जिल्ला हाम्रो उपलब्धी भन्ने मूख्य नारा तय गरिएको थियो । यस अघि हुम्लाको नाम्खा गाउँपालिकामा १५ वर्ष भन्दा माथिका २ हजार ८ सय ८९ जनसंख्या मध्ये २ हजार ७ सय ७८ अर्थात ९६.१६ प्रशित साक्षर भएपश्चात २०८१ साल फागुन २७ गते घोषणा गरेको थियो ।
यस्तै सिमकोटले ९५.६ प्रतिशत साक्षर भएको तथ्याङ्क सहित २०८० बैशाख २५ गते नै घोषणा गरेको थियो भने खार्पुनाथले २०७९ अषाढ ३१ गते (९५.५ प्रतिशत), सर्केगाडले २०८० अषाढ २५ गते (९५.७४ प्रतिशत), चंखेलीले २०८० अषाढ २९ गते (९५.२४ प्रतिशत), अदानचुलीले २०८० अषाढ २८ गते ( ९५.६४ प्रतिशत) र ताँजाकोटले २०८० अषाढ २७ गते ( ९८।२८ प्रतिशत) का दिन साक्षर गाउँपालिका घोषण गरेपश्चात आज सिंगो जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश आले मगरले बताउनु भयो । साक्षर जिल्ला घोषणा कार्यक्रमको लागि सबै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुखहरु हिजो नै जिल्ला सदरमुकाम पुगी सकेका थिए ।
कार्यक्रममा साक्षरता अभियानमा साथ दिने व्यक्ति, संस्था र निकायलाई सम्मानपत्र दिएर सम्मान गरिएको थियो । राजनीतिक दल, शिक्षासँग सरोकार राख्ने निकायका व्यक्तिहरु र जनप्रतिनिधिहरुले साक्षर जिल्ला घोषणा गर्न सफल भएकोमा शुभकामना दिए । उनीहरुले साक्षर जिल्ला घोषणा भइसकेपछि शिक्षित हुम्लाको परिकल्पनाका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।
साक्षर जिल्ला घोषणा कार्यक्रम सरकारी तथा निजी विद्यालयहरुका विद्यार्थीहरुसमेत भेला भएका थिए । उनीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसको आयोजकमा सामाजिक विकास कार्यालय हुम्ला भएपनि सह आयोजकमा शिक्षा विकास तथा समन्वय इकाइ रहेको छ ।
देशका ७७ जिल्ला मध्ये साक्षर घोषणा गर्नेमा हुम्ला ६७ औँ र कर्णाली प्रदेशको ८ औँ जिल्ला हो, यस अघि २०८१ मंसिर २२ गते जुम्ला ६६ औँ साक्षर जिल्ला घोषणा भएको थियो । साक्षर जिल्ला घोषणा गर्ने पहिलो जिल्ला सिन्धुपाल्चोक हो जो २०७१ साल असाढ २ गते घोषणा गरीएको थियो अब १० जिल्ला बाँकी रहेका छन् ।