काठमाडौँ । टिप्परको ठक्करबाट ज्यान गुमाएका धिरेन्द्र भियालको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । सात दिनपछि हुम्ला जिल्ला अदानचुली गाउँपालिका–३ का २४ वर्षीय भियालले गत असार ८ गते साँझ दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।
धिरेन्द्रको शव परिवारले न्याय र क्षतिपूर्तिको माग गर्दै सात दिनसम्म अस्पतालमै राखेका थिए । धिरेन्द्र हेल्थ असिस्टेन्ट (एचए) अध्ययन सकेर जागिर नपाएपछि विदेश जानका लागि तयारी गर्दै गरेको बताइएको छ । असार ८ गते साँझ करिब ८ः१५ बजे काठमाडौँको थानकोटस्थित आफ्नो डेराबाट निस्केका थिए। कोठाबाट निस्किएको केही समयमै—कलंकी नजिक ढुंगेअड्डामा दुई मोटरसाइकल आपसमा ठोक्किएपछि, ना.६ ख ८६७४ नम्बरको टिप्परले धिरेन्द्र चढेको बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिप्परको चक्कामुनि परेका धिरेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न अर्को बा. ६३ प २०७७ नम्बरको मोटरसाइकल थियो, जसका चालक घाइते भई हाल शहिद मेमोरियल अस्पताल, कलंकीमा उपचाररत छन् ।
मृतकका बुबा मुन्जीते भियाँलले परिवारको सम्पत्ति धितो राखेर धिरेन्द्रलाई काठमाडौँ पठाएका थिए। उनले सहिद स्मारक जनशक्ति कलेज (मिस्ट) मा एचए अध्ययन पुरा गरेका थिए । तर जागिर नपाएपछि घरको बढ्दो ऋणको चापले थिचिएर उनले विदेश जान लागेका थिए। दुर्घटनापछि धिरेन्द्रको शव महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको थियो । न्याय र क्षतिपूर्तिको माग गर्दै परिवारले सात दिनसम्म शव बुझेका थिएनन् । अन्ततः टिप्पर पक्षसँग ७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिमा सहमति भएपछि मात्र शव बुझी आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
धिरेन्द्रकी दिदी रिता भियाल खाडी मुलुकमा घरेलु कामदारको रूपमा कार्यरत छिन् भने उनका बुवा गाउँमै ज्यालादारी मजदुरी गर्दै आइरहेका छन्। घरको एक मात्र छोरा गुमाउनु परेको पीडामा भियाल परिवार पूर्ण रुपमा विक्षिप्त छ ।
न्याय नपाएको भन्दै परिवार, आफन्त र पुरै गाउँ नै काठमाडौँमा आन्दोलनमा उत्रिएका थिए । तर पनि न्याय पाउनु पर्नेमा अन्याए भएको परिवारको गुनासो रहेको छ ।