ष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको नेपालको एक मात्रै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आजबाट सडकसँग जोडिएको छ ।
सडकसँग जोड्नको लागि गएको चैत्र १० गतेबाट काम सुरु गरेको नेपाली सेनाले ४० दिनमा काम सम्पन्न गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बिहान १० बजे नै उद्घाटन गर्ने कार्यक्रम भएपनि मौसम प्रतिकुलताका कारण करिब ५ घण्टा सुर्खेतमै रोकिएर नेपाली सेनाको हेलिकप्टर मार्फत खार्पुनाथमा साँझ सवा ४ बजे मात्रै पुग्नु भएको हो ।
पुगे लगत्तै स्थानीय भेसभुसामा बाजागाजाले स्वागत गर्दै हेलिप्याडदेखि बेलिब्रिजसम्म प्रधानमन्त्री ओली हिँडेर पुग्नुभएको हो । बेलिब्रिजमा पुगे लगत्तै ओलीले रिबन काटेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न र त्रिदेशीय कनेक्टिभिटीको लागि बेलिब्रिज बनाइएको भएपनि निर्माणाधीन पक्की पुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटो तिर डोर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताउनुभएको छ । उहाँले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दैलैजाने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने बताउनुभयो । उहाँले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गर्नुभयो ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधिन पक्कीपुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अप्ठयारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गर्दैलैजाने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न पनि क्वारेन्टाइन तत्काल स्थापना गर्न आवश्यक भएको बताउनुभयो ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले कर्णाली करीडोरलाई छिट्टै डबल लेनको बनाउने, असजिलो भएको ठाउँमा आरसीसी गरेर भएपनि सडकलाई सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । करिब १० मिनेट मात्रै सम्बोधन गर्नु भएका ओलीले यो सडक कर्णाली र हुम्लावासीको मात्र नभई नेपाल चिन र भारतसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल डबल लेनको बनाउने, कालोपत्रेलाई जोड दिने बताउनु भयो ।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पनि हुम्ला पुग्नुभएको थियो । मौसममा खराबी आएका कारण प्रधानमन्त्री सहितका मन्त्रीहरू नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरमा करिब ५ घण्टा विताएपश्चात हुम्ला पुगेर बेलिब्रिजको उद्घाटन गर्नु भएको हो । कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
प्रधानमन्त्री र संघीय मन्त्रीसहित कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, प्रधानसेनापति अशोकराज सिक्देल, पूर्वाधार सचिव केशव कुमार शर्मासहित १८ जनाको टोली हुम्ला आएको हो । उक्त पुल सेनाले ४ करोड लागतमा ४० दिनमा निर्माण सम्पन्न गरेको हो ।
सरकारको निर्णय अनुसार कर्णाली कोरिडोर अन्तरगत खार्पुमा बेलिब्रीज जोड्ने कामको जिम्मा पाएको नेपाली सेनाले एक पुल जोड्न देशका विभिन्न १२ स्थानबाट नेपाली सेनाका प्राविधिक परिचालित भएका छन् । सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेको कर्णाली कोरिडोर अन्तर्गत जडान गर्न श्री नम्बर १४ बाहिनी अड्डा काठमाडौँ, श्री ब्रिजिङ्ग युनिट काठमाडौँ, कालिबक्स गण काठमाडौँ, कालिफन्दन गण दमौली तनहुँ, श्री कालिप्रसाद गण भैसे मकवानपुर, श्री कालिशक्ति गण मोरङ, श्री कालि सिद्धी गण बर्दिबास, श्री कालिरक्षा गण कैलाली, श्री कालिभक्ति गण भैरहवा, श्री कालिदल गण सुर्खेत विमानस्थलका इन्जिनियर (प्राविधिक) सेना हुम्लाको खार्पुमा परिचालित भएको खार्पुमा खटिएका मेजर पुरबहादुर घलेले जानकारी दिनुभयो ।
पश्चिम नेपालको उत्तर दक्षिण जोड्ने रणनीति महत्व बोकेको कर्णाली कोरिडोर अन्तरगत खार्पुको बेलिब्रीज जोड्न नेपाली सेनाको टोलीले २०८१ चैत १० गतेदेखि निरन्तर काममा लाग्यो । निर्धारित लक्ष्य पुरा गर्न दिन रात काममा खटिएको नेपाली सेनाको टोलीले ४० दिन अर्थात् गत असार १० गते नै काम सम्पन्न गरेको भएपनि प्रधानमन्त्री ओलीको फ्रान्स भ्रमणका कारण पुल उद्घाटन आज २२ गते उद्घाटन गरिएको हो ।