भाद्र ३० हुम्ला । नेपाल खाद्यले चामल, तेल र चिनि सौलियतमा ब्रिकी वितरण गर्ने भनिएता पनि यतिबेला खाद्यन्न मात्रै विक्रि वितरण भएको छ ।
तेल र चिन जिल्ला सदरमुकाममा विक्रि वितरण भएपनि अन्य क्षेत्रमा भने केहि दिन पछि सौलियतमा विक्रि वितरण हुँने खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेड हुम्ला शाखाले जनाएको छ । यस वर्षको चाड पर्व लक्षित खाद्यान्न बिक्री कार्य आजबाट हुम्लाका तीन स्थानबाट सुरु भएको छ ।
चाड पर्व लक्षित सहुलियत दरमा खाद्यन्न बिक्रीबितरण हुम्ला शाँखा सहित जिल्लाको माथिल्लो क्षेत्र याल्वाङ र तल्लो क्षेत्र श्रीनगरमा रहेका दुई वटा डिपोबाट सुरु गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर थापा मगरले बताउनु भयो । शाखा कार्यालय सिमकोटको गोदामबाट जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले पहिलो ग्राहकलाई खाता ओढाएर स्वागत गर्दै पचास केजी खाद्यान्न हस्तान्तरण गरेका छन् ।
अब खाद्यान्नमा चामल र चिनी प्रतिकेजी पाँच रुपैयाँ र तेल प्रतिलिटर सात रुपैया साविक मुल्य भन्दा कममा बिक्री गर्न सुरु गरिएको हो । शाखाले सँधै बिक्री बितरण गर्दै आएको अरुवा मोटा चामल प्रतिकेजी ६३ रुपैयालाई ५८ रुपैयामा बिक्री सुरु गरिएको छ भने अरुवा मोटा फोट्टीफाईडलाई पनि सोही मुल्यमा बिक्रीवितरण सुरु गरिको छ ।
त्यसैगरि अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६६ रुपैयाबाट घटाएर ६१ रुपैया, अरुवा मध्यम प्रतिकेजी ६६ बाट ६१ मा, जिरा मसिनो चामल प्रतिकेजी ९० रुपैयाबाट ८५ मा झारेको छ । त्यसैगरि चिनी प्रतिकेजी ११५ रुपियाबाट ११० रुपैयाँमा बिक्री गर्न सुरु गरिएको छ ।
यता तेल भटमास प्रति लिटर २४० रुपैयाबाट २३३ रुपैयाँ, सुर्यमुखी तेल प्रतिलिटर २४५ रुपैयाबाट २३८ रुपैया र तोरी तेल प्रति लिटर २३५ रुपैयाँ बाट २२८ रुपैयाँँँमा बिक्री सुरु गरेको छ । जिल्लाभर चामल एक हजार नौ सय क्वीन्टल, चिनी २५० क्वीन्टल र तेल चार हजार लिटर समुलियत मुल्यमा बिक्री गरिने बताउनु भयो । जिल्लाको माथिल्लो क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ र अदानचुली गाउँँपालिकाको केन्द्र श्रीनगरबाट बिक्री सुरु गरिएको छ ।
जिल्ला शाँखाबाट तेल र चिनि यस अघि ल्याएको स्टक सामाग्री विक्रि वितरण गरीएको भएपनि अन्य दुई वटा डिपोमा भने स्टक नरहेकाले यतिबेला विक्रि वितरण गर्न नसकिएको डिपो प्रमुखहरुले बताएका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको श्रीनगर डिपोमा चामल मात्र विक्रि वितरण भएको छ ।
डिपो प्रमुख प्रेम बुढाका अनुसार यस वर्षको लागि भनिएको सौलियत चिनि र तेलको टेन्डरमा ढिलाई भएका कारण डिपोमा पुग्न नसकेको र सुर्खेतमा पुगि सकेकाले अबको केही दिनमा पुग्ने बताउँदै पुग्ने वित्तीकै विक्रि वितरण गरीने बताउनु भयो । –––कालीबहादुर थापा