देउसी भैलीबाट उठाएको रकमले बाटो मर्मत गरीएको छ । देउसी भैलो मनोरञ्जन देखी विलासी खर्च गर्नको लागि खेल्ने गरीएको भएपनि पछिल्लो समय केही देउसी भैलो खेल्ने समुहहरुले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानि गर्न थालेका छन् ।
हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ तल्लो कल्खे गाउँका युवाहरु मिलेर गएको तिहारको अवसर पारी देउसी भैलोबाट उठाएको रकमले दैनिक आवत जावत गर्ने बाटो मर्मतमा खर्च गरीएको उक्त समुहका संयोजक वर्ष महताराले बताउनु भयो ।
सामान्यतया दर्गम क्षेत्रमा शहरबाट गाउँघरमा आएका र गाउँमै भएका युवाहरु मनोरञ्जनको लागि भन्दै स साना समुहहरु मिलेर देउसी खेल्ने भएकाले सयौँ समुहहरु देउसी भैलो खेल्ने र सोहीबाट उठेको रकमबाट बनभोज खाएर सक्ने परम्परालाई तोड्दै यो गाउँका युवाहरुले भने गतवर्षैबाट विकास निर्माणका कार्य गर्न सुरु गरेको छ । गत वर्ष दैनिकरुपमा पशुचौपाया हिडाल्ने तलिखोलाको बाटो मर्मत गरीएको र यस वर्ष स्यालखेत खानेपानीको बटो मर्मत गरीएको महताराले बताउनु भयो ।
पछिल्लो समय दुर्गम क्षेत्रहरुमा विकास योजनाहरु आफै नआउने र ल्याउनु परे कमिशन दिएर ल्याउनु पर्ने तथा सानातिना विकासका योजनाहरु पनि नआउने भएकाले यस्तो जुक्ती निकालेको बताउनु भयो ।
मुगु जिल्लाको भिई, सोरु गाउँपालिकाको मुख्य बजार क्षेत्र, तुम्च र हुम्लाको आफ्नै गाउँमा देउसी खेलाई करिब ३५ हजार सम्म रकम संकलन गरीएपनि १३ जना युवाहरुलाई खाना र नास्ताबाट घटाई बचेको पैसाले एक खसी र चिउरा ल्याएर बाटो भत्कीएको ठाउँ स्यालखेतमै लगेर काम गर्दै खुवाउँदै गरेकाले दिनभर गाउँका सबै नागरीकहरुले काम गरेको र साँझ चिउरामासु खाँदै फर्किदा गाउँका नागरीक खुसी भएको स्थानीय धनबहादुर महताराको भनाई छ ।
खासगरी दैनिक खानेपानी ल्याउने, पशुचौपाया देखी देबीदेबता हिड्ने बाटो गएको बैशाखमा आएको बाढीले भत्काएको थियो, जोखिम मोलेर मानिसहरु हिड्ने गरीरहेकोमा जनश्रमदान गर्न नमानी स्थानीय सरकारको मुख ताकेको तर स्थानीय सरकारले यसको कुनै पहल नगर्दा वैकल्पीक माध्यमबाट बाटो मर्मत गरीएको बताए ।
बाटो भत्कीएर मर्मत नगर्दा नागरीकहरुलाई आवत जावतमा समस्या भएकोमा अब देखी सहज हुँने त्यहाँका नागरीकहरुले बताएका छन् । सबै नागरीकहरुले काम गरेको र अब आवत जावतमा सहज हुँने महताराले बताउनु भयो । –––कालीबहादुर थापा