अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । सडकको ट्रयाक खोलीएको करिब १० दश वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो ।
गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु भएलगत्तै अहिले निरन्तर रुपमा काम भैरहेको छ । कर्णाली करिडोरको सडक निर्माण गरिएको स्थान (जिरो पोइन्ट) गल्फागाडबाट सुरु भएर श्रीनगर स्थित गाउँपालिकाको प्रशासनीक भवन निर्माण हुने स्थान नजिकैको मोड सम्म करिब ९ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे गरिने भएको छ ।
अहिले गल्फागाडबाट सडक चौडा बनाउने, ग्याबिन लगाउने, नाला खन्ने कार्य स्काभेटर र कामदारबाट धमाधम भई रहेको छ । बिश्व बैंङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको लम्बाई ९ दशमलव ९ किलो मिटर रहेको र सडकको चौडाई आठ मिटर रहेपनि कालोपत्रे भने ३ मिटर ७५ सेन्टीमिटर हुँने भएको छ ।
करिब ६ महिना अगाडी गाउँपालिकाले टेण्डर आह्वान गरेर ओएशिस ईन्जिनीयरिङ एण्ड बिल्डर प्रालि छनौट भई अहिले स्तरउन्नतीको काम सुरु गरेको छ । बिदेशी लगानी भएको कारण प्रकृया मिलाउन केही समय लागेकोले सम्झौता भएको करिब ६ महिनापछि सडक निर्माण कार्य सुरु भएको र अब त्यसले गति लिने गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहले बताउनु भयो । काममा केहि ढिलाई हुँदे देखीएपछि दुई सिफ्टमा सडकको स्तरोन्नती गर्ने कार्य अगाडी बढाउने बिषयमा निर्माण कम्पनीसंग कुराकानी भई रहेको उहाँले बताउनु भयो ।
उक्त सडकको स्तरोन्नती गर्ने कार्य पुरा भएपछि कालोपत्रेको काम सुरु गरिने छ । ५४ करोड लागत लाग्ने गरि सडकको ईष्टिमेट तयार गरिएको भएपनि टेण्डर हुँदा घटिघटाउमा ४६ प्रतिशतशमा बिट भएर ३० करोडमा उक्त निर्माण कम्पनी छनौट भएकोे हो । सम्झौता भएको दुई वर्षमा सडकको कालोपत्रे कार्य समेत पुरा गरिने छ ।
उक्त सडक करिब १० वर्ष अगाडि ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री) ले बिना मेशिन र बिष्फोट प्रयोग नगरी मानिसहरुकै सहायतामा सडकको ट्रयाक खुलाउने कार्य गरेको थियो । यो सडकको निर्माण कार्य पुरा भएपछि हुम्ला जिल्लाकै पहिलो कालोपत्रे भएको सडक हुँने भएको छ जिल्लामा अहिले सम्म कुनैपनि सडक कालोपत्रे भएका छैनन् ।–––कालीबहादुर थापा