हुम्लाको खार्पुनाथ गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिकाका पाँचवटै वडामा जन्मदेखि २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य संयोजक हरीभक्त शाहीले बताउनु भयो ।
“स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित घोषणा कार्यक्रममा राष्ट्रिय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना निर्देशिका अनुसार गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता कायम रहेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताउनु भयो ।
आगामी दिनमा पनि राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाले अनिवार्य रूपमा खोप पाउने सुनिश्चितता गर्दै कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रावलले विगतमा खोपको पहुँच नहुँदा बाल मृत्युदर उच्च हुने गरेको स्मरण गर्दै अहिले विभिन्न प्रकारका खोप कार्यक्रम सञ्चालन भएपछि बाल मृत्युदर घट्दै गएको बताउनुभयो । शिक्षा र स्वास्थ्य मानव जीवनका अत्यन्त महत्वपूर्ण आधार भएको उल्लेख गर्दै हुम्लाका अन्य गाउँपालिकाभन्दा खार्पुनाथ गाउँपालिका स्वास्थ्य क्षेत्रमा एक कदम अगाडि रहेको दाबी गर्नुभएका अध्यक्ष रावलले पूर्ण खोप सुनिश्चितताको अवस्थालाई आगामी दिनमा पनि दिगो बनाउन स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई अझ सक्रिय भएर काम गर्न अध्यक्ष रावलले आग्रह गर्नुभयो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले सबै जनप्रतिनिधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, उद्योगी–व्यापारी, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा अभिभावक सबै सरोकारवालाले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिन महत्वपुर्ण भुमिका रहने बताउनु भयो । भने जिल्ला अस्पताल हुम्लाका डाक्टर भिम बुढाले बालबालिकामा देखिने विभिन्न कडा तथा जोखिमयुक्त रोगको नियन्त्रण र निर्मूल गर्न खोप अत्यन्त आवश्यक रहेको बताउनुभयो ।