वर्षायाम शुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकहरुको संख्या सिमकोटमा बाक्लीन थालेको छ ।
सिजन सुरु भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटकहरु आउन सुरु भएको ४ दिनमा मात्र १ सय ६९ जना आईपुगेका छन् ।
हुम्लाहुँदै कैलास मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा आएका १ सय ६९ जना तिर्थयात्रीहरु जिल्लामा आएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनु भयो । उहाँका अनुसार वैशाख ३० गतेदेखि आउन शुरु गरेका यात्रुहरु मध्ये ४ दिनमा भारतीय १ सय ४७ जना र अन्य देशका २२ जना यात्रीहरु सिमकोटमा आएका हुन् ।
प्रतिकूल मौशमका वावजुत आज मात्रै तिन उडान भरेको समिट एयरको हजाजबाट ४७ जना तिर्थयात्रीहरु सिमकोट आइपुगेका छन् । आज आएका २३ जनामा कैलास मानसरोवर जाने प्रमिट नभएका कारण सिमकोटमै बस्नु परेको हो । गएको चैत २१ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार शनिबार र आइतबार सार्वजनिक विदा भएका कारण प्रमीट आउन ढिलाई भएपछि २३ जना भारतीय तिर्थयात्रीहरु सिमकोटमै बस्ने भएका छन् ।
यस वर्षका लागि मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकहरुको आवागमन शुरु भएको चार दिनकै हिसाबले पनि ठूलो संख्यामा आउन थालेकाले हुम्ला सदरमुकाम सिमकोटमा मानसरोवर कैलास जाने तिर्थयात्रीहरुको उपस्थिती बाक्लीदै जान थालेको छ ।
२०७२ सालको महाभुकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटकहरु आउन सुरु भएको थियो । बिचमा कोरोना अवधिमा हिल्सा नाका बन्द हुँदा पर्यटक आउन पनि बन्द भएको थियो । गतवर्षबाट चीनले भारतीय पर्यटकहरुलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गतवर्ष चार महिनामा छ हजार पाँच सय भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए ।
यो वर्षको पहिलो दिन गएको वैशाख ३० गते पहिलो पटक आएको तिर्थयात्रीहरुको टोलीलाई सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी लगायतका पदाधिकारी र अधिकारीहरुले सिमकोट विमानस्थलमा यात्रीहरुलाई स्वागत गर्नु भएको छ ।