आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन अब करिब एक महिना मात्र बाँकी रहेका बेला हुम्लाका नागरिक विकास निर्माणका काममा व्यस्त बनेका छन । वर्षभरि सुस्त देखिएका अधिकांश विकासे योजनाहरू अहिले भने तीव्र गतिमा सञ्चालन भइरहेका छन । जिल्लाका विभिन्न स्थानीय तहमा सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, स्वास्थ्य संस्था तथा अन्य भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन ।
नेपालमा साउन महिनादेखि नयाँ आर्थिक वर्ष सुरु हुने भए पनि हुम्लामा अधिकांश योजनाको काम समयमै सुरु नहुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । आर्थिक वर्षको सुरुवातमा योजना छनोट, सम्झौता, लागत अनुमान, बजेट निकासा तथा अन्य प्रशासनिक प्रक्रियामै लामो समय खर्च हुने गरेको छ । जसका कारण साउनदेखि चैतसम्म धेरै योजनाको काम अघि बढ्न नसकी वैशाख र जेठ महिनाबाट मात्रै निर्माण कार्य सुरु हुने गरेको देखिन्छ ।
असार मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी लिनुपर्ने बाध्यताका कारण अहिले उपभोक्ता समिति, निर्माण व्यवसायी र स्थानीय मजदुरहरू निर्माणस्थलमा खटिएका छन । कतिपय स्थानमा एकै समयमा धेरै योजना सञ्चालन हुँदा आवश्यक जनशक्ति र निर्माण सामग्री व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ । यतिबेला जिल्लाका विभिन्न गाउँबस्तीमा विकास निर्माणका गतिविधि बढेसँगै नागरिकहरू भ्याइनभ्याइको अवस्थामा पुगेका छन ।
स्थानीयवासीहरूका अनुसार विकास निर्माणका काम आर्थिक वर्षको सुरुवातदेखि नै सञ्चालन हुनुपर्ने भए पनि अन्तिम समयमा मात्रै काम गर्ने परिपाटीले निरन्तरता पाइरहेको छ । समयको अभावमा हतारहतार काम सम्पन्न गर्नुपर्ने अवस्था आउँदा निर्माणको गुणस्तरमा समेत असर पर्ने गरेको उनीहरूको भनाइ रहेको छ । समयमै योजना सम्झौता र बजेट व्यवस्थापन हुन सके निर्माण कार्य थप प्रभावकारी, गुणस्तरीय र दिगो बन्ने स्थानीयको अपेक्षा रहेको छ ।
विशेषगरी दुर्गम हिमाली जिल्ला हुम्लामा मौसम अनुकूल हुने अवधि सीमित हुने भएकाले विकास निर्माणका काम समयमै सुरु हुनु आवश्यक मानिन्छ । तर हरेक वर्ष आर्थिक वर्ष सकिनै लाग्दा मात्र विकासे कामले गति लिने गरेको छ । जसका कारण असार महिनामा जिल्लाभर विकास निर्माणका गतिविधि एकाएक बढ्ने र नागरिकहरू काम सम्पन्न गर्न दौडधुपमा लाग्ने गरेका छन ।
आर्थिक वर्षको अन्त्य नजिकिएसँगै अहिले हुम्लाका विभिन्न गाउँ तथा बस्तीमा विकास निर्माणको चहलपहल बढेको छ । असार मसान्तभित्र योजना सम्पन्न गर्ने दबाबका बीच नागरिकहरू विकासे काममा व्यस्त देखिएका छन ।