विष्णु भगवानको दिव्य दश अवतारहरू मध्येको आठौँ अवतारको रूपमा द्वापर युगको अन्ततिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई संसारभर कृष्ण जन्न अष्टमी मनाइ रहेका छन् ।
ज्ञान योग, ध्यान योग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्मदिनमा व्रत, भजन कीर्तन, झाँकी र नाचगान गरी प्रचलन अनुसार आज विभिन्न शक्तिटि लगाएत मठ मन्दिरमा मनाइ रहेका छन् । । अधर्म माथिको विजय, अंहकारको विनाश, भक्ति र प्रेमको पर्वको रूपमा हिन्दु धर्मावलम्बीहरूले धूमधामका साथ मनाउदै आएका छन् ।
मदनरत्नमा स्कन्दपुराणको वचन उद्धृत गर्दै बताइएको छ –पुरुषले र स्त्रीले जन्माष्टमी व्रत गर्दछन् र अरूलाई पनि गर्न लगाउँछन् भने तिनीहरू धनधान्यले सम्पन्न हुन्छन् । जन्माष्टमी व्रत गरेपछि साधकका सबै कार्य सिद्ध जनविश्वास रहेको छ । अर्को अर्थमा राक्षस तथा दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागी भगवान् विष्णुको आठौँ गर्भका रूपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रूपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंस र देवकी दाजु बहिनी थिए । देवकीको विवाह वसुदेवसँग भएको थियो । देवकी र वसुदेवको विवाह सकेर अन्माएर वसुदेवको घर जाँदै गर्दा आकाशबाट आकाशवाणी भएको थियो । जसलाई तिमी आफ्नो बहिनी ज्वाइँ भनेर उनका घर लिएर जाँदै छौ उनकै आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ । यस्तो आकाशवाणी पश्चात् देवकीको हत्या गर्ने मनसायले कंसले तरबार निकाल्यो तब बसुदेवले कंसको अगाडी हात जोडेर देवकीको गर्भबाट जति बालक पैदा हुन्छ जन्मे लगत्तै कंसलाई सुम्पने सङ्कल्प गर्दै देवकीको प्राण रक्षाको निम्ति बिन्ती गरे । त्यसपश्चात् बसुदेवको यो प्रतिज्ञा स्वीकार गरी आफ्नो आफ्नो घर गए । देवकीको सात बालक कंसले हत्या गरी दियो । देवकीको आठौँ सन्तानबाट आफ्नो मृत्यु हुने भएपछि कडा सुरक्षा दिएर देवकी र बसुदेवलाई जेलमा राख्यो ।
जब आठौँ सन्तानको रूपमा श्रीकृष्णको जन्म भयो । भगवान् विष्णुले देवकी र वसुदेवलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए र भने गोकुलमा नन्दगोपालको घरमा भरखरै एक कन्याको जन्म भएको छ । तिमी मलाई गोकुल लैजाऊ र त्यहाँ यशोदाको काखमा सुताएर कन्यालाई यहाँ ल्याएर आउनु भनी अन्तध्र्यान हुनुभयो । चामत्कारीक रूपमा कारागारका द्वार खुले । त्यो समयमा कृष्ण भगवानको मोहले सबै सुरक्षाकर्मीहरूलाई मस्त निद्रा लाग्यो, सबै निदाए । विष्णुले भनेअनुसार वसुदेव श्रीकृष्णलाई लिएर गोकुल जान हिँड्नु भयो, बाटोमा यमुना नदीले भगवान् श्रीकृष्णको दर्शन गरी बाटो खुल्ला गरिन् । केही छिनमा वसुदेवले यशोदाको काखमा कृष्णलाई सुताएर कन्यालाई लिएर फर्के । यो कुरा यशोदालाई थाहा भएन । यता कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत् बन्दी जस्तै भएर बसे । केहीबेरमा कन्या रुन थालिन् । कन्या रोएको आवाज सुनेर सबैको निन्द्रा खुल्यो र यो कुरा कंस समेतलाई थाहा भयो । यो सब थाहा पाएर जेल घरमा आएर कन्यालाई मार्नलाई जमिनमा पछार्न खोज्दा ती कन्या आकाशमा उठ्दै जति कोसिस गरे पनि मार्न नसक्ने भनी सबै वृत्तान्त बत्ताइन । यसरी भगवान् श्रीकृष्णको असाधारण जन्म भएको थियो । पछि कृष्णले कंसको बध गरी धर्मको पुनः स्थापना गरेको कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
चार रात मध्ये आजको रातलाई मोहरात्रि भनिन्छ । आध्यात्मिक रूपमा अज्ञान, अंहकार र लोभलाई हटाई धर्म, ज्ञान र प्रेमको स्थापना भएको रातको रूपमा बुझिन्छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृति स्वरूप आजको दिन यो पर्व मनाउने गरिएको हो ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथिका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।
श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ ।
आजको दिन गोकुल, मथुरा, वृन्दावन, द्वारका आदि स्थानमा विशेष महोत्सव गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ । पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभा यात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आजको दिनमा विशेष गरी महिलाहरू व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
भगवान् कृष्णको प्रिय सङ्गीतको साधन वासुरी घरमा, अफिसमा तथा व्यापारिक प्रतिष्ठानहरूमा राख्दा वास्तु दोष निवारण हुने, सकारात्मक शक्ति प्राप्त हुने, धन धान्यमा वृद्धि कुरा शास्त्रमा पढ्न पाइन्छ ।
अधर्म माथिको विजय, अंहकारको विनाश मात्र हैन श्रीकृष्णले ज्ञान योग, ध्यान योग, कर्मयोग र भक्ति योगको प्रतिपादन गर्नुभएको छ । ज्ञान योग – आत्मा नित्य छ , स्वतः प्रकाशित छ । अजर छ कहिल्यै ननासिने छ । न यो आत्मा जन्मन्छ न यो मर्छ नै । शरीर नाश हुँदा पनि यो नाश हुँदैन । आत्मा शाश्वत एवम् सनातन छ अचल एवम् स्थिर भएर पनि सर्वगत र सर्वव्यापी छ । यस किसिमका आत्मस्वरुपको पहिचान गर्नु नै ज्ञान हो ।
ध्यान योग– ईन्द्रियहरुलाई वसमा राखी जो योगी नित्य निरन्तर परमात्माको ध्यानमा विलीन रहन सक्दछ ,यस्तो योगीले परम आनन्ददायी शान्ति प्राप्त गर्दछ र उसको अन्तरात्मा हावा नभएको ठाउँमा राखिएको दीप जस्तै स्थिर रहन्छ । यस किसिमको समाधिद्धारा चित्तशुद्धिकरण भएका योगीले आत्यन्तिक सुखको अनुभूति गर्दै आफ्नो आत्माले परमात्माको साक्षात्कार गर्दछ र आफू आफैमा सन्तुष्ट रहन्छ । यही परम आनन्द नै आत्यन्तिक सुख हो । यस किसिमको सुख र आनन्दको अनुभूति गर्ने योगीले यसभन्दा अर्को कुनै उपलब्धिलाई लाभ हो भन्ने नै ठान्दैन र यस्तो स्थितिमा पुगेका योगीको चित्तवृति जस्तोसुकै कठोर दुखबाट विचलित हुँदैन ।
भगवद्गीताको छैटौँ अध्यायको २२ औ श्लोकमा भनिएको छ ।
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं तत् स्।
यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते स् ।।
ध्यान योग भन्नु नै दुःखको संयोगबाट रहित हुनु हो । यस किसिमको योगाभ्यास मनले ईन्द्रियहरु रोकेर समग्र कामनाहरूको परित्याग गरी आत्मामा नै मनलाई रोकेर बिस्तारै गर्नु पर्दछ ।
कर्म योग– स्वार्थ त्यागेर निष्काम भावले अरूको सेवामा समर्पित भई संसारकै कल्याण र भलाइका लागि कर्म गर्नु नै कर्म योग हो । कर्मफलको आशक्ति त्यागेर नित्यतृप्त र निराश्रय भई निष्काम कर्म गर्नाले मनुष्य संसारबाट माथि उठ्दछ । यही नै कर्म योगको निचोड पनि हो । शुभाशुभ सबै कर्मको फल परमेश्वरमा समर्पण गर्नु पनि निष्काम कर्म योग हो ।
श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको ४७ श्लोकमा लेखिएको छ ।
कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
कर्म गर्नु मनुष्यको अधिकार हो र कर्मफल उसको अधिनमा छैन र उसको अधिकारको कुरो होईन । त्यसैले कर्मफलको हेतू वा कारण बन्नु हुँदैन र कर्म गर्दा त्यसप्रतिको आशक्ति, आकांक्षा र कामना परित्याग गर्नुपर्दछ । कर्म नगरी निष्क्रिय रहन पनि गीतोक्त कर्मयोगले स्विकार्दैन । श्रीमद्भगवद्गीता भन्दछ– “मा ते सङ्गस्त्वकर्मणि” अकर्ममा अर्थात काम नगरी निष्क्रिय रहने कुराम आशक्ति नरहोस् ,कर्म गरेरै बस्नु पर्ने कुरामा जोड दिएको छ ।
भक्ति योग–निःस्वार्थ भावले निष्काम कर्म गर्नु कर्मयोग हो । परमेश्वरप्रति अगाध प्रेम राखेर गरिने समर्पण भाव नै भक्ति योग हो । यसबाट नवधा भक्तिको भावना प्रकट हुन्छ र भक्तजन परमेश्वरका भजन, कीर्तन सेवा गरेर उहाँको सच्चा भक्त बन्न सक्दछ । भगवद्गीतामा निष्काम कर्म योग र भक्ति योग पृथक तत्त्व नभएर दुवै एक अर्काका परिपूरक छन् र दुवैमा अन्योन्याश्रित सम्बन्ध छ । निष्काम भावले सम्पन्न गरिने कर्म कर्मयोग हो भने त्यो शुभ कर्म परमेश्वरमा अर्पण गर्नु भक्ति योग हो ।
तर यस क्षेत्रमा भने साउने सक्रान्ती मनाई रहेका छन् । धेरैजसो ठाउँमा साउनको महिलो दिनलाई साउने सक्रान्तीको रुपमा मनाउने गरिएपनि यस क्षेत्रका अधिकांस स्थानमा आजको दिनलाई साउने सक्रान्तीको रुपमा मनाउने गरीएको छ । यस अघि बालीनाली लगाउने भएपनि आजबाट दिनलाई सबै कुटा कोदालो लगायतका सबै काम सकाएर बिश्राम लिने भन्दै यो पर्व मनाउने गरिएको छ । कार्तिक बाली लगाउने दिन सकाएर खुसी मनाउने भन्दै यो पर्व मनाउन थालीएको यहाँका स्थानीयहरुको भनाई रहेको छ ।