फागुन ६ हुम्ला ः अब निर्वाचन आउन १६ दिन मात्र बाँकी रहेका बेला एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा पुराना राजनीतिक दलहरू परम्परागत शैलीमै चुनावी अभियानमा सक्रिय देखिएका छन् । यस अघि देखीएका हुम्लाका मुख्यदलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ तर यसपटक चुनावी मैदानमा रहेका युवापुस्ताको उपस्थिति र दलहरूबीचको एकल प्रतिस्पर्धाले चुनावलाई थप रोचक बनाएको छ ।
अघिल्ला निर्वाचनमा देखिएको चुनावी सहकार्यको परिपाटी तोड्दै दलहरू यसपटक एक्लाएक्लै मैदानमा उत्रिएका छन् । उम्मेदवारहरू उत्साहका साथ घरदैलो अभियानमा लागे पनि मतदातामा भने अपेक्षित उत्साह देखिएको छैन । अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटकको प्रतिस्पर्धा कडा र रोचक हुने आकलन देखिएको छ ।
यहि महिनाको २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हुम्लाु जिल्लामा तीन दलका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट जिल्ला सदरमुकाम सिमकोट (माथिल्लो क्षेत्र)का जयपती रोकाया, नेकपा एमालेबाट अदानचुली गाउँपालिका (तल्लो क्षेत्र) का दल फडेरा र नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) बाट सर्केगाड गाउँपालिका बिच क्षेत्र) का डा. दिपेन्द्र रोकाया बिच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।
हुम्लाको ७ वटा स्थानीय तह मध्ये ताँजाकोट गाउँपालिकाबाट नेकपा (माओबादी) का कुम्भ बुढा उम्मेदवार बनेका छन् भने अदानचुली गाउपालिकाबाट नेकपा एमालेका उम्मेदवा दल फडेरा उम्मेदवार छन् भने सर्केगाड गाउँपालिकाबाट नेपाली कम्यूनिष्ट पार्टीबाट डा. दिपेन्द्र रोकाया, प्रगतिशल लोकतान्त्रीक पाटी (प्रलोपा) बाट जटिल कार्की र राप्रपाका छक्क बुढा उम्मेदवार छन् । खार्पुनाथ गाउँपालिका र चंखेली गाउँपालिकामा उम्मेदवा छैनन् भने सिमकोटबाट नेपाली काँग्रेशका जयपति रोकाया र नाम्खाबाट राष्ट्रिय स्वतन्त्र पाटीका टासी लाजोम उम्मेदवार हुनुहुन्छ ।
एक निर्वाचन क्षेत्र रहेको हुम्लामा साना चार दलको उम्मेदवारी भएपनि मुख्यतया कांग्रेस, एमाले र नेपाली कम्यूनिष्ट पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको स्थानीय तहमा अध्यक्षमा निर्वाचत पाटी केन्द्रीय सदस्य दल फडेरा अहिले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । नेपाली काँग्रेश हुम्ला जिल्ला पाटी सभापतिमा २ कार्यकाल बिताइ सकेका रोकायाको लागि पनि यो प्रथम चुनावी मैदान हो । त्यसैगरि नेपाली कम्यूनिष्ट पार्टीका रोकायाको पनि पहिलो निर्वाचन हो जबकी उन अहिले सम्म कुनै पनि निर्वाचन नलडेको बताउनु भएको छ ।
२०७९ को समानुपातिक मत परिणाम अनुसार समानुपातीक तर्फ हुम्लामा पहिलो काँग्रेश, दोश्रो माओबादी केन्द्र, तेश्रो एमाले, र चौथो एकिकृत समाजवादी पार्टी भएका थियो ।
पहिलो स्थानमा रहेको कांग्रेसले ८ हजार १ सय ९२ मत प्राप्त गरेको थियो भने दोस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ७ हजार ३ सय ६३ मत प्राप्त गरेकोे थियो । देशभर समानुपातिकतर्फ पहिलो दल बनेको एमाले हुम्लामा भने तेस्रो स्थानमा सीमित रह्यो । एमालेले ५ हजार ९ सय ७ मत प्राप्त गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चौथो स्थानमा १ हजार २१ मत ल्याएकोे थियो । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) ले ७ सय ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ९०, मितेरी पार्टी नेपालले ३ सय ४ र रास्वपाले १ सय ७१ मत प्राप्त गरेको थियो ।
प्रत्यक्ष तर्फ नेपाली काँग्रेश, नेकपा माओबादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धनका उम्मेदवार छिरिङ डम्डुल लामाले १४ हजार ३ सय ७१, नेकपा एमालेका दल रावलले ९ हजार ५ सय १६ र राप्रपाका तेजबहादुर रावतले ३ सय ७८ मत प्राप्त गरेका थिए ।
अब अहिले माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी एकता भई नेपाली कम्युनिस्ट पार्टी भएपछी कांग्रेस र एमालेलाई जित्न मुस्कील भएको छ । एमाले हुम्लाबाट २६ वर्ष सम्म प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न पाएको छैन तर काँग्रेस र माओबादीले २६ वर्ष देखी निरन्तर प्रतिनिधित्व छ । नेकपा माओबादी केन्द्रबाटै फुटेको प्रलोपाको उम्मेदवार जटिल कार्की र नेकपा माओबादीकै कुम्भ बुढाले नेकपाको मत काट्ने आँकलन सहित कांग्रेस र एमालेका उम्मेदवारहरुले आफुहरुले जित्ने दावी गरी रहेका छन् ।
यता नेपाली काँग्रेशले आफ्ना ६ हजार कृयाशिल सदस्य भएको र उक्त कृयाशिल सदस्यहरुको घरबाट एक एक मत थप्दा पनि १२ हजार मत हुँने भएपनि प्राविधिक कारणले केही संख्या घटेपनि करिब ९ हजार मत ल्याएर जित्ने काँग्रेश नेता तथा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जिवनबहादुर शाहीको भनाई छ तर नेकपा एमाले पनि १० हजार मत ल्याएर बिजयी हुँने जिल्ला इृन्चार्ज दल रालको भनाई छ उहाँका अनुसार गएको निर्वाचनमा गठबन्धनकै बिचमा आफु लड्दा नौहजार मत ल्याएको बताउँदै यसपटक थप १ हजार मत थपिएर १० हजार मतले बिजयी हुँने बताएका छन् ।
एमाले र कांग्रेसको प्रतिस्पर्धाको बीचबाट आफ्नो जित निकाल्न नेपाली कम्युनिस्ट पार्टी लागि परेको देखिन्छ । नयाँ गठित दलमा तत्कालिन माओवादी केन्द्र र एकिकृत समाजबादी र माओबादी समाजवादीका मतदाता एकीकृत भएको त्यसमा आफ्ना पुराना एमाले कार्यकर्ताको आफू तिर तानेर भएपनि जित सुनिश्चित हुँने तत्कालीन एकिकृत समाजबादीबाट समाहित नयाँ पाटीका केन्द्रीय सदस्य हस्त शाहीको बुझाई छ ।
तर यस अघिका निर्वाचनको आधारमा र काँग्रेश नेता शाहीले विभिन्न ठाउँमा हालेका योजनाको कारणले पनि हुम्लामा काँग्रेशले नै जित्ने केहीको भनाई छ भने पछिल्लो समय एमाले प्रतिको आकर्षणले एमाले जित्ने केहीको दाबी छ तर लामो समय पत्रकारीता क्षेत्रबाट आएका पुर्वकर्णाली योजना आयोगका सदस्य समेत भैसकेका विज्ञ व्यक्ति निर्वाचनको मैदानमा उतारेकाले र जिल्लामा तिन वटा पाटी एक भएकाले नेकपाका उम्मेदवार रोकाया जित्न सक्ने जनमानस चर्चा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार टासी लाजोम अन्य पार्टीका उम्मेद्वार भन्दा नयाँ अनुहार मात्र नभई गएको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको नेतृत्व तहमा रहेकी मात्र नभई बर्तमान सरकारको मन्त्रीको नाममा चर्चा कमाएकी र जेन्जी उमेर समुहकी युवा अभियन्ता भएकाले गाउँ गाउँमा पुग्दा युवाहरु उक्त पार्टीमा आकर्शित हुँदै गएकाले रास्वपामा कुन पार्टी समर्थक युवा प्रवेश गरे त्यसै संख्याले प्रतिस्पर्धी तीन दल मध्ये कस्ले जित्ने एकिन गर्नेछ । त्यती मात्र नभई हुम्लाबाट पहिलोपटक महिला उम्मेदवार भएको र लामा समुदायका मतहरु हरेक निर्वाचनमा एकमत गर्ने भएकाले पनि रास्वपाको मतले यि तिन राजनितिक दलको फैसला गर्ने आँकलन छ । रास्वपा मात्र होइन जनताका जनजिविका र पुरानो सत्ताका कमि कमजोरी बारे उठान गर्दै गाउँ गाउँमा चुनावी प्रचारमा रहेको नेकपा माओवादीका उम्मेद्वार कुम्भ बुढा प्रति पनि जनताको आकर्षण बढ्दै गएको देखिन्छ । उक्त पाटीमा रास्वपा हुम्लाका संस्थपक महेन्द्र पाण्डेलाई पाटीले टिकट नदिएपछि नेकपा माओबादी प्रबेश गरी चुनाबी कमाण्डर समेत बनेर गाउँ गाउँमा पुगेका छन् उहाँले पनि तत्कालिन माओवादी केन्द्र, रास्वपा र समाजवादीका मतदाताका मत लिने भएकाले जितको परिणाममा नेकपा माओवादीले पनि ठुलै धक्का दिने चर्चा छ । त्यती मात्र नभई प्रचण्डबाट फटेका जनार्दन शर्मा नेतृत्वको प्रलोपाले शहिद परिवारका सदस्य युवानेता जटिल कार्कीको उत्तीकै चर्चा छ उनले पनि शहिद परिवार देखी तत्कालीन माओबादी केन्द्रको भोट काट्न सक्ने आँकलन छ भने राप्रपा भने आफ्ना पुरानै मतदाताहरु सुरक्षित गर्नेतिरै देखीएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हुम्ला जिल्लामा ३४ हजार ३ सय ७२ जना मतदाता रहेका छन् । सातवटा स्थानीय तह रहेको हुम्लामा ६० मतदान स्थल र ६१ मतदान केन्द्र तोकिएका छन् । हिउँद सिजन, युवा कामको लागि भारत तथा तेस्रो मुलुक पलायन, निर्वाचन प्रति मतदाता उत्साहित नभएको जस्ता कारणले यो निर्वाचनमा विगतका मतदान भन्दा कम मत खस्ने देखिन्छ । २०७९ को निर्वाचनमा ७६ प्रतिशत मत खसेपनि यो निर्वाचनमा त्यो भन्दा कम मत खस्ने देखिन्छ । जसको फलश्वरुप यसले पनि चुनावी परिणाममा प्रभाव पार्नेछ ।
२०४६ पछिका निर्वाचनः बदलिँदो शक्ति सन्तुलन
२०४६ सालमा बहुदलीय व्यवस्था पुनस्थापनापछि भएका संसदीय निर्वाचनहरूले हुम्ला जिल्लाको राजनीति कुनै एक दलमा सीमित नरहेको स्पष्ट देखाएको छ । २०४८ देखि २०७९ सालसम्मका निर्वाचन परिणाम हेर्दा संयुक्त जनमोर्चा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तथा स्वतन्त्र उम्मेदवारले पालैपालो जित हासिल गरेका छन् ।
बहुदलपछिको पहिलो आम निर्वाचन २०४८ मा संयुक्त जनमोर्चा नेपाल (हाल एमाले) का छक्कबहादुर लामा ४ हजार ६ सय ९५ मतसहित निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चक्रबहादुर शाही ४ हजार ६ सय ८७ मतसहित केवल ८ मतले पराजित भएका थिए । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसका शाही ७ हजार ८ सय ८७ मतसहित विजयी भए । स्वतन्त्र उम्मेदवार अंगबहादुर लामाले ६ हजार ९ सय २० मत प्राप्त गर्दा एमालेका गोरखबहादुर बोगटीले ५ हजार ७ सय १९ मत ल्याएका थिए ।
दुई पटक पराजित भएका बोगटीले २०५६ सालमा ११ हजार ८ सय ७९ मतसहित विजय हासिल गरे । कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवार बनेका शाहीले ७ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमोर्चाका सोनाम गुरुङले ९ सय ६२ मत ल्याएका थिए तर बोगटीले जित हाँसिल गरेपनि माओबादी द्धोन्दका कारण पुरा कार्यकाल संसद बन्न पाएनन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र (हाल नेकपा)का कर्णजित बुढाथोकी १३ हजार ३ सय १८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवनबहादुर शाहीले ५ हजार १ सय ९६ मत पाए भने एमालेका बोगटीले ३ हजार २ सय ९० मत प्राप्त गरेका थिए । यस्तै २०७० सालको निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाही ८ हजार ३ सय ३२ मतसहित विजयी हुँदा एमालेका दल रावलले ४ हजार ९ सय ३९ र माओवादीका छक्कबहादुर लामाले ३ हजार ४ सय ७५ मत प्राप्त गरेका थिए ।
२०७४ सालमा माओबादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४ सय ९१ मतसहित निर्वाचित भए । कांग्रेसका मंगलबहादुर शाही ८ हजार ४ सय ४४ मतसहित ४७ मतले पराजित भएका थिए । त्यसबेला एमाले र माओवादी बीच एकता भई नेकपा बनेको थियो, तर नेकपाका उम्मेदवार छिमिदोर्जे लामालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार लामाले बाजी मारेका थिए । प्रदेशसभा ‘क’ मा नेकपाका दल रावल ७ हजार १ सय ५८ मतसहित विजयी हुँदा कांग्रेसका ठानबहादुर रोकाया ४ हजार ८ सय ११ मतसहित पराजित भए ।
प्रदेशसभा ‘ख’ मा कांग्रेसका जीवनबहादुर शाही ४ हजार ५ सय १९ मतसहित विजयी भए भने नेकपाका विजय भण्डारी ३ हजार ९ सय ९५ मतसहित पराजित भए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङ दम्डुल लामा ९कार्चेन० १४ हजार ३ सय ७१ मतसहित निर्वाचित भए भने एमालेका दल रावल ९ हजार ५ सय १६ मतसहित दोस्रो स्थानमा रहे ।
प्रदेशसभा ‘क’ मा गठबन्धनका रणसिंह परियार ६ हजार ४ सय ८१ मतसहित विजयी भए भने कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही ४ हजार ६ सय ३० मतसहित प्रमुख प्रतिस्पर्धी बने । भने प्रदेशसभा ‘ख’ मा गठबन्धनका जीवनबहादुर शाही ७ हजार ५६ मतसहित विजयी हुँदा एमालेका छक्कबहादुर लामा २ हजार ९ सय ७९ मतसहित पराजित भए ।
२०४६ पछिका सात निर्वाचनले हुम्लाको राजनीति निरन्तर परिवर्तनशील, प्रतिस्पर्धात्मक र शक्ति सन्तुलनमा आधारित रहेको देखाउँछ ।
यसले हुम्लाका मतदाताले दलभन्दा पनि समय, परिस्थिति र उम्मेदवारको व्यक्तित्वलाई प्राथमिकतामा राख्दै निर्णय गर्ने प्रवृत्ति देखाएको संकेत गर्छ । –––कालीबहादुर थापा