
हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा अवस्थित सूर्योदय माध्यमिक विद्यालय निकै पुरानो हो। हालको अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिकाका साविकका ४ वटा गाउँ विकास समिति (श्रीनगर, कालीका, मदना र मैला) को एकमात्र माध्यमिक विद्यालय सूर्योदय माध्यमिक विद्यालय वि.सं. २०१७ सालमा तत्कालीन समयमा गाउँका मुखियासमेत रहेका पञ्चप्रधान तथा समाजसेवी दानबहादुर भण्डारीको पहलमा स्थापना भएको थियो।
भौगोलिक हिसाबले निकै टाढा रहेको मैला, मदना र मुगु जिल्ला सोरु गाउँपालिकाअन्तर्गतका साविकको भिई, धैनकोटबाट विद्यार्थीहरूलाई यस विद्यालयमा आउन मात्र एक दिन लाग्ने भएकाले विद्यार्थीहरू गाउँघरमा कसैको घरमा बिहान बेलुका काम गरेर बस्न बाध्य भएपछि एउटा छात्रावासको आवश्यकता परेको थियो। विभिन्न निकायसँगको पहलमा २०५२ सालमा १२ कोठे छात्रावाससहित ३ कोठे भान्छाको निर्माण भएको तत्कालीन समयका प्रधानाध्यापक हरीप्रसाद गोर्खालीले बताउनुभयो।
उहाँ भन्नुहुन्छ, “म २०४७ सालमा नियुक्त भई गएँ, तर २०५० सालमा मलाई झबेन्द्रप्रसाद आचार्यले प्रधानाध्यापकको जिम्मा दिनुभयो। जिम्मा दिएको १७ दिनमै हावाले विद्यालयको भवन उडाइदियो। त्यो पनि बनायौँ। त्यसपछि करिब २०५१ सालतिर होला, ठ्याक्कै थाहा भएन, श्रीनगर गाविसमा आफ्नै जिल्ला पोखरास्थित हिमालय आँखा अस्पतालले आँखा शिविर राख्यो। उक्त शिविरमा नेदरल्याण्डका डा. हकवयलाई यहाँका समस्या म आफैँसहित श्रीनगरका नागरिकहरूले दर्शायौँ। त्यसपछि ती नागरिकको एकल प्रयासमा २०५२ सालमा निर्माण सुरु गरी २०५३ सालतिर मलाई हस्तान्तरण गरिएको हो।” के कति रकमले बनेको हो, उहाँलाई अहिले सम्झना छैन। बजेटमा आफूले कुनै हात नहालेको र उपभोक्ता समितिमा मनसुर भण्डारीसहित अन्य सदस्यहरूले नै निर्माण गरेकाले आफूलाई कुनै जानकारी नभएको उहाँ बताउनुहुन्छ।

उक्त छात्रावास पोखरामा भएको एउटा संस्थाको समन्वयमा निर्माण गरिएको भए पनि अहिले त्यसको कुनै तथ्य विद्यालयमा नभएको अहिले विद्यालयका शिक्षकसमेत रहेका यसअघिका प्रधानाध्यापक चित्र भण्डारीले बताउनुभयाे। २०५२ सालमा जनयुद्ध सुरु गरेकाे माअाेवादीहरुले ०५८/०५९ तिर सबै संरचनाहरूमा आफ्ना नाराहरू लेख्दाखेरी छात्रावासमा राखिएको शिलालेख कसले र कति सालमा निर्माण गरेको हो भन्ने पढ्न नसकिने अवस्थामा पुगेकाे छ। तर पनि उहाँ भन्नुहुन्छ, “पोखरास्थित हिमालय आँखा अस्पताललाई सहयोग गर्दै आएको एकजना नेदरल्याण्डका डा. हकवय भन्ने एकजना नागरिकले बनाएर हस्तान्तरण गर्नुभएको थियो। २०६० सालसम्म विद्यार्थीहरू यो छात्रावासमा खचाखच भरिन्थे। छात्रावासमा कोठा नपाएर बाहिर गाउँमासमेत बसेर अध्ययन गर्ने गर्दथे। तर, त्यसबेलाको जनयुद्धमा छात्रावासबाटै धेरै जना विद्यार्थीहरू डब्ल्युटी (पूर्णकालीन सदस्य) भएर जाँदाखेरी अभिभावकहरूले छात्रावासमा राख्न छोडे। त्यसपछि यो छात्रावासमा कहिल्यै पनि विद्यार्थी बस्न आएनन्।”
यता लामो समय सुर्योदयमा अध्यापन गराई अहिले गृह जिल्ला सरुवा भइ जानुभएका शिक्षक बुद्धीशागर शर्मा भने आफु २०६३ साल कार्तिक ९ गते सुर्योदयमा हाजिर हुँदा देखी ०६५।०६६ सम्म केहि कालिका, मैला र मदना विद्यार्थी बस्दै थिए पछि मैलाको धर्मोदयमा र कालीकाको सल्लाघारीमा मा वि सञ्चालनमा आएपछि छात्रवास बस्न ठप्प भएको बताए ।
पुनर्निर्माण नहुँदा जीर्ण
२०५२ साल अर्थात् आजभन्दा करिब ३० वर्षअगाडि बनाएको उक्त छात्रावासको भवनमा २२ वर्ष अघि अर्थात् २०६० सालदेखि अहिलेसम्म कुनै पनि विद्यार्थीहरू बस्न आएका छैनन्। त्यसपछि विद्यार्थीहरूले छात्रावासभन्दा गाउँमा बसेर अध्ययन गरे। त्यतिबेला सबैभन्दा धेरै विद्यार्थीहरू मुगुको भिईबाट बस्ने गरेको अहिले जनकल्याण आधारभूत विद्यालयकी रमिता धामीको भनाइ छ। उहाँ भन्नुहुन्छ, “छात्रावासले हामी महिला अर्थात् छात्राहरूलाई निकै सहज गरेको थियो। गाउँमा बस्दा पढाइ बिग्रने मात्र नभई जीवनसमेत बिग्रने खतराले बुवाले छात्रावासमै बस्न भनेपछि म निकै लामो समय त्यही छात्रावासमा बसेर पढेँ।”
जतिबेला विदेशी नागरिकले उक्त भवन बनाइसकेपछि अहिले त्यसको न पुनर्निर्माण छ, न त कुनै संरक्षण। त्यसयता निकै थान माननीय मन्त्री भए, गाविस अध्यक्षदेखि अहिले स्थानीय सरकार नै गाउँमा छ। तर, यसको पुनर्निर्माणमा कसैको पनि ध्यान नगएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेको अदानचुली २ श्रीनगरका हिमबहादुर भण्डारीको भनाइ छ। उहाँका अनुसार अहिले भवन जीर्ण अवस्थामा छ। तत्कालीन समयमा निर्माण समितिका अध्यक्ष मनसुर भण्डारीको नेतृत्वमा बनेको उक्त भवन जिल्लाकै नमुना थियो। अहिले यसको पुनर्निर्माणमा कसैले ध्यान नदिँदा बस्नलायक छैन।
एकपट्टिको भवनका ६ वटा कोठाहरू भत्किए पनि अर्कोपट्टिको ६ कोठाका माथिल्लो तलाका कोठाहरू नभत्किएकाले प्रधानाध्यापक टंकध्वज गत्री केही समयअघिदेखि बस्दै आउनुभएको थियो। तर, वैशाख ४ गते आएको अविरल वर्षासँगैको बाढीले सोही छात्रावासमा भल पसेपछि भवन बस्नलायक नभएपछि आफू विद्यालयको अर्को कोठामा बस्न लागेको प्रधानाध्यापक खत्री बताउनुहुन्छ। उहाँको पनि उस्तै तर्क छ कि छात्रावास भत्केर बस्नलायक छैन। यसको निर्माणतिर कसैले पनि चासो र चिन्ता नराखेको उहाँकाे तर्क छ।
किन विद्यार्थीहरू बस्दैनन् छात्रावासमा?
वि.सं. २०६२/६३ अघि यस क्षेत्रमा निम्न माध्यमिक विद्यालयहरू भए पनि जिल्लाको तल्लो क्षेत्र ४ वटा गाविसमा एकमात्र माध्यमिक विद्यालय सूर्योदय माध्यमिक विद्यालय थियो। त्यसपश्चात् सरकारले विद्यालय खोल्ने अनुमति दिएपछि गाउँ गाउँमा विद्यालय बन्न सुरु गरे। अहिले साविकको श्रीनगरमा एक मात्रै माध्यमिक विद्यालय भए पनि साविकको कालीकामा तीन वटा माध्यमिक विद्यालय छन्। मदना गाविसमा २ वटा र मैला गाविसमा २ वटा माध्यमिक विद्यालय छ भने उता मुगुको भिईमा १ माध्यमिक विद्यालय सञ्चालनमा छन्। गाउँ गाउँमा विद्यालयहरू सञ्चालनमा आएपछि छात्रावासमा बस्ने कुनै विद्यार्थीहरू भएनन्। केही समय बाहिरका शिक्षकहरू बसे, पछि विस्तारै शिक्षकहरू पनि स्थानीय नै आएपछि यो प्रयोगविहीन बन्दै गएको विद्यालयका शिक्षक चित्र भण्डारी बताउनुहुन्छ। उसो त २०६० देखि २०६४/०६५ सम्म गाउँ गाउँमा विद्यालयहरू थिएनन्। तर, बस्ने वातावरण भएन। अहिले भने बाहिरका विद्यार्थीहरू नै नभएपछि स्थानीय कुनै पनि विद्यार्थीहरू होस्टेलमा नबसेपछि न त मर्मत भयो, न यसको संरक्षण।