अषाढ २ हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तिमा भिषण आगलागी भएको छ । उनापानीको औलवस्तिमा आइतबार रातिबाट सुरु भएको आगलागी सोमबार बिहान बजेसम्म नियन्त्रणमा आउन सकेको छैन । राति करिब ११ बजेबाट सुरु भएको आगलागीबाट आठ वटा घर पूर्परुपमा जलेर नष्ट भएका छन् ।
स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागीले धनबहादुर रातव, जनक रावत, विजन फडेरा, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् । आगलागी लाग्नुका कारणबारे कुनै जानकारी भएको पीडित धनबहादुर रावतले बताउनुभयो ।
सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति २ बजे घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
आगलागीबाट घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, नागरीकता, घरको लालपुर्जा, अन्य कागजातसहित नगद जलेर नष्ट भएको छ । पीडित रावतका अनुसार आफ्नो घरमा भएको दुई लाख २० हजार रुपियाँ समेत जलेर नष्ट भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘खुट्टामा लगाउने चप्पल समेत जलेर नष्ट भएको छ । भएको जतिका सबै सम्पत्ति जलेका छन् । यद्यपी, मानविय क्षति भने भएको छैन । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।’’
प्रहरी चौकी समेत सर्केगाडमा भएकाले स्थानीय नागरीकहरुको सक्रियतामा आगलागी निभयाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।