जिल्लाका ७ वटा स्थानीय तह मध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा पहिलो स्थानीय तह भएको छ ।
पुर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार गाउँपालिकाको केन्द्रमा गई कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री जिवनबहादुर शाहीले घोषणा गर्ने कार्यक्रम भएपनि विशेष परस्थितिको कारण भौतिक उपस्थितिमा नभई डिजिटल प्रविधि मार्फत पहिलो पटक सुर्खेतबाटै कार्यक्रमको उद्धघाटन गर्नु भयो ।
पाँच वटा वडा भएको खार्पुनाथ गाउँपालिकाका सबै वडाहरुले यस अघिनै वडाहरु बालश्रम तथा बाल विवाह मुक्त घोषणा गरी सकेपश्चात आज सिंगो गाउँपालिका घोषणा गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिस्नु बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार यस गाउँपालिका क्षेत्र भित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै सामुहिक प्रतिबद्धता भए सँगै आज गाउँपालिकालाई नै बालश्रम तथा बाल विवाह मुक्त घोषणा गरिएको बताउनु भयो ।
बालश्रम तथा बालविबाह मुक्त घोषणा गर्ने अभियान अन्तरगत खार्पुनाथ गाउँपालिका वडा नं १ मा जेठ १६ गते घोषणा गरेको थियो सोही अनुसार वडा नम्बर २ मा २२ गते, वडानम्बर ३ मा २३ गते, ४ मा १४ गते र वडा नम्बर ५ मा २० गते बालश्रम तथा बाल विवाह मुक्त वडा घोषणा गरेसँगै आज सिंगो गाउँपालिका घोषणा गरीएको गाउँपालिकामा कार्यरत अधिकृत छैटौँ दिपक शाहीले बताउनु भयो ।
केहि दिन अघि जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षकी बालिकासँग हालै गरिएको विवाह पनि बदर गरेको छ । यो घटना जिल्लामै पहिलो पटक उमेर नपुगी गरिएको एक बालविवाह बदर भएको छ ।
स्थानीय सरकार देखी सरोकारवाला निकायहरुको सामुहित प्रतिवद्धता भएकाले अब कोही कसैले पनि बालबिबाह गर्न नपाउने र १८ वर्ष नपुगि कुनै पनि विकास योजनाहरुका काममा जान नपाउने गरी आज जिल्लामै पहिलो गाउँपालिकाको रुपमा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताउनु भयो ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिभराज शर्मा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, प्रहरी नायब निरिक्षक शंकर पोखरेल, गाउँपालिका सबै जनप्रतिनिधिहरु लगायत जिल्ला स्थीत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थितीमा घोषणा गरीएको छ । गाउँपालिका स्थीत सिता माध्यामिक विद्यालय, मान्धारा माध्यामिक विद्यालय लगायतका विद्यालयहरुले बालश्रम र बाल बिबाह सम्बन्धी जनचेतनामुल देउडा गित, नृत्य सँगै विभिन्न किसिमका झाँकीहरु प्रदशन गरीएको अध्यक्ष रावलले बताउनु भयो । –––कालीबहादुर थापा