वडामा साना राजा, सिंहदरबारमा बडाराजा । चुनाव जित्नेको त यसै पनि राजसी ठाँट, चुनाव हारेर बरालिएकाहरूको पनि राजैसरहको रवाफ । टोल, गाउँ, शहर, वडा, पालिका, प्रदेशदेखि सिंहदरबारसम्मै राजैराजा भए पनि एकथरी मान्छे राजा नै चाहियो भनेर बुरुकबुरुक गर्दैछन् । नवराजाहरूको चकचकी भैरहेको बेला पुरानो राजा खोज्दै चिहानतिर चिहाउनुको कारण के होला त ? कुरो बुझ्दै जाँदा यसमा पनि हाम्रै फाइदाको कुरा रैछ ।
सबैभन्दा पहिलो कुरा त नवराजाहरूको हालीमुहाली रहेको यो बेला उनीहरूलाई जे गर्न पनि छुट भएजस्तै हामीहरूलाई पनि मनलागी बोल्न छुटैछुट छ । चिहानबाट पुराना राजा जागे भने अहिलेजस्तो मनलागी लेख्न र बकबकाउन पाइँदैन ।

मोबाइल, फेसबुक र टिकटक चल्दैनन् । जसले जहाँ जुनसुकै बेला पनि मोबाइल, फेसबुक र टिकटक चलाउने गर्दा अहिले मान्छे बिग्रिए । भान्सामा तरकारी डढाउने पनि त्यही मोबाइल । श्रीमान्–श्रीमतीको झगडा गराउने पनि त्यही मोबाइल । हुने–नहुने, चाहिने–नचाहिने कुरा देखाउने पनि त्यही मोबाइल र फेसबुक । जथाभाबी मोबाइल र फेसबुक चलाउँदा विद्यार्थीको पढाइ बिग्रियो । जागिरेको काम बिग्रियो । पढाइमा भन्दा मोबाइलमा बढी ध्यान । काममा भन्दा फेसबुकमा बढी ट्याम ।
देश अघि बढ्न नसक्नुको मुख्य कारण मोबाइल र फेसबुक हो । मोबाइल र फेसबुक बन्द हुनेबित्तिकै विद्यार्थीले किताबमा ध्यान दिन्छन् । जागिरेले काममा समय दिन्छन् । भान्सेको आँखा चुल्हो र भाँडामा केन्द्रित हुन्छ । गाडी चलाउने र बाटो हिँड्नेको ध्यान सडक र पेटीमा मात्रै हुन्छ । कसैले फेसबुक ह्याक गर्याे, फेसबुकमा जथाभाबी लेख्यो भनेर टाउको दुखाउनु पर्दैन । देशबासीको ध्यान देश विकासमा हुन्छ । देशले फड्को मार्छ । मान्छेहरू चाहिने काममा लाग्छन् । नचाहिने कुरा हेर्ने बानी भएका पाखा लाग्छन् । नहुनु पर्ने केही हुँदैन । यो होला कि त्यो होला भन्ने अनावश्यक चिन्ता सकिन्छ । सबैको चित्त शान्त बस्छ ।
राजा चिहानबाट फर्किँदा अहिलेकै नवराजाहरूलाई पनि फाइदा हुन्छ । अहिले भएभरका दल र नेताहरूलाई कसरी नागरिक रिझाउने भन्ने चिन्ता छ । कोही गाउँ पसेका छन्, कोही शहर बसेका छन् । अर्कोभन्दा आफू कसरी ठाउँमा पुग्ने भन्ने चिन्ता छ । होडबाजी र दौडधूप छ । कोही वडाका राजा, कोही गाउँ र नगरका राजा । टोल र बस्तीपिच्छे राजा र महाराजा । पुराना राजा सत्तामा फर्कनेबित्तिकै नयाँ राजाहरू घर फर्कन्छन् । दलहरू विज्ञप्तिमा फर्कन्छन् । गाउँगाउँमा पुगेको सिंहदरबार नारायणहिटीमै मिसिन्छ । नेताहरूलाई घरबाहिर निस्कनै पर्दैन । अहिलेजस्तो को पहिला गाउँ पुग्ने, अर्काेभन्दा आफू कसरी फरक भएर नागरिकको मन जित्ने भन्ने चिन्ता नै हुँदैन । चुनावमा टिकट पाइएला कि नपाइएला, पाइयो भने जितिएला कि नजितिएला, जितियो भने मन्त्री पाइएला कि नपाइएला भन्ने छटपटी हुँदैन । अपराधीलाई जेलबाट छुटाउन, सुनदेखि मान्छेसम्मको तस्करीमा मिसिन, भ्रष्टाचार र कमिसनको सोझो बाटो कुन हो भनेर पहिल्याउन पनि पर्दैन । यी सबै काम राजा र उनका मान्छेले गर्छन् । आफू घरमै बसिरहन पाइन्छ । वर्षौंसम्म घरमै बसेर खान पुग्ने सम्पत्ति पहिल्यै जोडिसकेको हुनाले के खाने भन्ने चिन्ता छैन । बेलाबेला विज्ञप्ति निकाल्यो, आरामसँग बस्यो, आनन्दको जिन्दगी बिताउन पाइन्छ ।
राजा आउँदा जङ्गल छेउछाउमा उप्रदो मच्चाइरहेका हात्ती, गैँडा र बाघ पनि विदेश पुग्छन् । नेपालमा भएका देवीदेवताका मूर्तिहरू पनि विदेशीले देख्न र ढोग्न पाउँछन् । देशभित्रका मूर्तिलाई विदेशसम्म पुर्याएर सबैलाई दर्शन गराउन सक्ने मामलामा पुरानै राजा पोख्त छन् । पहिले बेचिएका मूर्तिहरू अहिले धमाधम फर्किन थाल्दा नेपाली देवीदेवता देशभित्रै मात्र सीमित हुने हुन् कि भन्ने डर छ । देशभित्र रहेका धेरैभन्दा धेरै मूर्तिलाई विदेशसम्म पुर्याउनका लागि पनि राजा फर्कनैपर्छ ।
पूर्वराजा फर्कँदा देशमा बलात्कार, भ्रष्टाचार र बेथिति बढ्यो भनेर निराश भएका मान्छेलाई पनि राहत पुग्छ । किनकि राजा र उनका मान्छेबाट हुने यस्ता कुकाम कसैले सुन्नै पर्दैन । यस्ता कुरा सबैलाई सुनाउने रेडियो, टेलिभिजन, अखबार र अनलाइन नै हुँदैनन् । कुकामका कुरा गर्ने कोही नभएपछि देश भ्रष्टाचारमुक्त हुन्छ ।
चुनाव कसले जित्छ, प्रधानमन्त्री र मन्त्री को हुन्छन् भन्ने अनावश्यक चिन्ता, चासो र सरोकारमा पनि मान्छे अल्झनु पर्दैन । राजाकै छोरा राजा हुन्छन्, राजाकै मान्छे प्रधानमन्त्री र मन्त्री हुन्छन् । उनैले शासन गर्छन् । अरू चुप लाग्छन् र आफ्नो काम गर्छन् । त्यसैले गैसकेका राजा आइबक्स्यो भने सबैलाई हाइसञ्चो हुन्छ ।
भैरहेका राजा भैरहे पनि घाटा चाहिँ छैन । पहिले राजाको दर्शन गर्न घण्टौं लाइनमा उभिनुपर्थ्याे । अहिले दोबाटो, चौतारो र चोकचोकमा दिनैपिच्छे दुई/चार राजा भेटिन्छन् । चोरऔँला ठड्याएर राजालाई यो भएन र त्यो भएन भन्न पाइन्छ । टोलका एक/दुई जना राजा रिझाउन सकियो भने आफैँ राजा हुन पाइन्छ । राजा हुनु भनेको सुखसुविधा, अमनचैन र भोगविलासले भरिपूर्ण हुनु हो । दुइटा मात्रै चुनाव भएर सबैको राजा हुने पालो पुगिसकेको छैन । अब हुने दुई/चार वटा चुनावपछि राजा हुने पालो अरूको पनि आउँछ । त्यसपछि टोलटोलमै पूर्व र कोही वर्तमान राजा भेटिनेछन् । वर्तमानको राजा हुँदा यसै पनि डाडूपन्यू आफ्नो हातमा, दुःख र अभाव भोग्नु नपर्ने । पूर्वराजा हुँदा पनि राज्यको सेवा सुविधा थापिरहन पाइने । पूर्वविशिष्टको नाममा मात्रै यस्तो सेवा, सुविधा दिने कानून बन्दैछ । पछि हुँदै जाँदा चुनाव जित्ने र उठ्ने पनि विशिष्टमा गनिन सक्छन् । विशिष्टहरूले पाउने त्यो सेवा, सुविधा भोट खसाल्नेहरूको हात पनि पुग्ला । सेवा, सुविधा गाउँटोलसम्म पुगेपछि त जताततै सुखैसुख मात्र । गणतन्त्रकालकै राजा रहिरहे पनि सुख । चिहानबाट चिहाएका राजा फर्किए पनि सुख !
Ujyaloo....